ब्ल्याक माउन्टेनमा हाइकिङ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ३१, २०७५

‘नेपाल भ्रमण वर्ष–२०२०’ प्रवद्र्धनको उदेश्यले बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ गरिएको छ । ‘हाइक फर नेपाल’ शीर्षकको उक्त अभियानले वेल्सलाई करिव चार घण्टा नेपालमय बनायो  । १२ किलोमिटर लामो पैदलयात्राका लागि ‘नेपालका लागि संगसंगै पाइला चालौंं’ नारा दिइएको थियो । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेयता विदेशमा रहने नेपालीहरूको प्रयासमा भएको यो सम्भवतः पहिलो कार्यक्रम थियो । बेलायतका लागि राजदूत दुर्गाबहादुर केसीले माउन्ट एभरेस्ट नामकरण गर्ने सर जर्ज एभरेस्ट बेलायतकै भएको स्मरण गर्दै यसैकारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए  । बेलायतीहरूको समेत उल्लेखनीय सहभागिता रहेको हाइकिङमा सहभागी हुन नेपालबाट तेह्र पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाईं, बी विल राइज फाउन्डेसनका संस्थापक तुलसी गुरुङ, सोही फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ र सुरज गुरुङसमेत वेल्स पुगेका थिए । करिव १ सय ५० नेपाली एवं विदेशी सहभागी हाइकिङमा बेलायतीहरूले नेपालबारे उत्सुकतापूर्वक जिज्ञासा राखेका थिए ।