नेपालमा जनवरीमा के के घटनाहरु घटे त ?

-- नेपाल गतिविधि फेब्रुअरी अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

बन्ने भयो क्रिकेट स्टेडियम

धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । जनवरी ३० का दिन काठमाडौंमा आयोजित एक समारोहमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो । त्यसका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ । रंगशालामा क्रिकेटसंगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए। सो रङ्गशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामकरण गरिएको रंगशालाको गुरुयोजना बन्न ६ महिना लाग्ने र आगामी अढाई वर्ष भित्र निर्माण सम्पन्न भई महानगरलाई हस्तान्तरण गरिने छ । रंगशाला निर्माणको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रंगशाला निर्माणका लागि स्वदेश र विदेशमा रहेका नेपालीसंग आर्थिक सहयोग जुटाइने छ । राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गरेको छ । कलाकारिताबाट समाजसेवामा लागेका धुर्मुसको नेतृत्वको फाउण्डेशनले यसअघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ ।

३४ वर्षमा नेपाल टेलिभिजन

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४औं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन ‘विकासका लागि सञ्चार’ भन्ने नेटिभीको स्थापनाकालीन सन्देश आज झन् सान्दर्भिक ठहरिन पुगेको बताउनुभएको छ । मुलुकको राजनीतिक संक्रमण अन्त्य गरी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, –‘विविधतामा एकताको हाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसंस्कृत नेपाली समाजको निर्माण गर्नमा यसको महत्व झन् बढेको छ ।’ नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेटिभीको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रधानमन्त्रीले त्यसका दर्शकले अझ बढी जीवनोपयोगी जानकारी, समाजको समग्र विकासका लागि उत्प्रेरक विषयवस्तुका साथै सूचना र स्वस्थ मनोरञ्जन प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । झण्डै साढे तीन दशकअघि स्थापित नेटिभीले जनवरी ३१ का दिनदेखि नै आफ्नो प्रसारणमा एचडी प्रविधिलाई अङ्गीकार गरेको छ । एउटा च्यानलबाट शुरु भएको नेपाल टेलिभिजनले अहिले विभिन्न चार वटा च्यानलबाट सूचनायुक्त, मनोरञ्जक र शिक्षामूलक श्रव्य दृश्य सामग्री उपलब्ध गराइरहेको छ ।

तीन स्रष्टालाई पुरस्कार

राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित छुट्टा–छुट्टै दुई पुरस्कार तीन जना स्रष्टालाई अर्पण गरिएको छ । कोषद्वारा आयोजित कार्यक्रममा यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुन्द्रमान सिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रूपमा प्रदान गरिएको हो । राष्ट्रिय विभूति अरनिकोको सम्मान तथा नेपाली कलाको संरक्षण र विकासमा सहयोग पुर्याउने ध्येयले विसं २०५७ मा स्थापित सो पुरस्कारको राशि नगद रु ५० हजार, स्वर्ण पदक तथा प्रमाणपत्र रहेको छ । हालसम्म यो पुरस्कारबाट ३७ जना कलाकार सम्मानित भैइसक्नुभएको छ । नेपाली परम्परागत, आधुनिक एवं मौलिक चित्रकलाको फाँटमा निरन्तर सक्रिय रही प्रशंसनीय योगदान दिएवापत कलाकारद्वयलाई उक्त पुरस्कार प्रदान गरिएको हो । विसं २०४८ मा स्थापित यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक, सङ्गीतकार तथा लेखक अजर जङ्गमलाई अर्पण गरियो । युवा सङ्गीतकार जङ्गम सङ्गीत विधामा नै विद्यावारिधि गर्र्दै हुनुहुन्छ । नेपाली लोक, आधुनिक, मौलिक तथा सुगम सङ्गीतका फाँटमा अतुलनीय योगदान पुर्याउनुभएका स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि ४० हजार रुपैयाँ नगद, स्वर्णपदक तथा प्रमाणपत्र रहेको छ । उक्त पुरस्कारबाट हालसम्म ४३ जना स्रष्टा सम्मानित भैइसक्नुभएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले ती पुरस्कार ती स्रष्टालाई अर्पण गर्दै कलाकार विभाजित नभई एकताबद्ध रुपमा कला साहित्यको श्रीवृद्धिमा समर्पित हुनुपर्छ भन्नुभयो । उक्त अवसरमा कोषका अध्यक्ष भीमबहादुर अधिकारी, उपाध्यक्ष प्रदीपमान वैद्य, सदस्यसचिव शङ्करप्रसाद पाण्डेले कोषका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

बुद्धको रात्रिकालिन उडान सफल

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्र्रपुरस्थित चन्द्रगढी विमानस्थलमा जनवरी ३० का दिन रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रअरीदेखि रात्रिकालीन उडानसंगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपथ्र्यो । यो विमानस्थल पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढी, दार्जि्लिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बङगलादेशलाई पनि जोड्ने बताइन्छ । यात्रुको सेवालाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणले करीब छ महीना अगाडि नै यो विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउन आरएनएभी प्रविधि जडान गरी हालै आवश्यक रनवे लाइट जडान गरेको थियो । प्रविधिसँगै सुरक्षा र जनशक्तिको पनि व्यवस्थापन भइसकेको विमानस्थलले जनाएको छ । बुद्धले आगामी दिनमा थप विमानस्थल तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । केही महीनापछि नै जनकपुरमा पनि परीक्षण उडान गरी व्यावसायिक उडान भर्ने जनाएको छ ।

चीनसंग १५ नाका सञ्चालन हुने

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसंगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको छ । पोखरेलले तीन तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले जनतालाई निर्वाचनमा गरेका कबुललाई सम्झेर काम गर्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले स्थानीयस्तरमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण गरेर विकासे खुड्किलो अगाडि बढाउन आग्रह गर्नुभयो ।

डा.केसीका माग सम्बोधन गर्न आग्रह

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ । सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाइ ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्रा डा केसीले १६ औं अनशन शुरु गर्नभएको थियो । हाल उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भैसकेको छ । प्राडा केसीले अनशन शुरु भएको जनवरी ३१ मा २३ दिन भएको छ । उनको उपचारमा संलग्न चिकित्सकले डा. केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएको जनाएका छन् । अर्का पूर्वप्रन्या कल्याण श्रेष्ठले मङ्गलवार डा केसीलाई भेट गर्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा केसीले उठान गर्नुभएका माग विधेयकमा सम्बोधन भैइसकेको बताउँदै आउनुभएको छ । अर्काेतर्फ प्रा.डा.केसीको जीवन रक्षा र उनले उठान गरेका मागमा ऐक्यबद्धता जनाउँर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन जारी राखेको छ । शिक्षण अस्पताल प्रशासनले अस्पताल हातभित्र अनशन, रिले अनशन तथा विरोधका कार्यक्रम नराख्न तथा नगर्न स्वास्थ्यकर्मीमा आग्रहसमेत गर्दै आएको छ ।