नेपालीले र सामाजिक संस्थाले नेपालमा गर्नु पर्ने र गर्न सकिने काम

-- टंक प्रसाद पन्त / प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६

मेरो नाम टङ्क प्रसाद पन्त हो । मेरो जन्म काभ्रे जिल्लाको तेमाल गाउ पालिका वडा न ३ चैथलिमा भएको हो मेरो छोराको र छोरीको परिवार अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेका हुनाले हामी आमा बुवा पनि गत ४ वर्षदेखि पर्यटन भिसामा यहाँ आउने जाने गरिरहेका छौ । मैले यहाँ रहदा बस्दा र नेपाली समुदायसंग भेटघाट गर्दा अनुभव गरेको कुरा, नेपालको गरिवी, बेरोजगारी, राष्ट्रको अति पिछौडापन प्रतिको दिक्दारीपन नै हो । पृथ्वी नारायण शाहले नेपालको एकिकरण गरे पश्चात बहादुर शाहको पालासम्म एकिकरणको प्रकृया अघि बढेपनि, त्यसपछिका शाहहरूले आपसी झै झगडा, सौता सौतामा आफ्नो छोरालाई राजकुमार बनाउने होडबाजिमा भइरहने झगडाले राणा शासनको उदय र १०४ वर्षको निरङकुश जहनीया शासन, बि.स. २००७ भन्दा पछाडि पनि शाह राजाहरूको छल्याइ, फट्याइ, धुर्त्याइले लोकतान्त्रिक शासन व्यबस्था कायम हुन नदिएर पञ्चायत जस्तो एकदलीय निरङकुश व्यबस्थाले बहुसंख्यक अशिक्षित नेपाली जनतालाई २०४७ सालसम्म अध्यारोमा रहन वाध्य पारेको तथ्य हामी सबैलाई थाहा नै छ ।

वि.सं.२०४७ सालदेखि हालसम्म को २८ वर्षको संसदीय र गणतन्त्रको ईतिहासमा २०४८ र २०५६ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले बहुमत हासिल गरेपनी २०४८–२०५१ साल भित्र भएको अत्यधिक भष्ट्राचार, पार्टी भित्रको आन्तरिक द्वन्द, माओबादी ससस्त्र बिद्रोह, तिनतिर घेरेर रहेको छिमेकी राष्ट्रद्वारा गरिएको आन्तरिक मामिलामा अति नचाहिँदो हस्ताक्षेपले गर्दा र २०७४ को भन्दा अरु चुनावमा कुनै पार्टीले पनि बहुमत प्राप्त नगर्दा भएको र खेलिएको अति घृणित राजनीतिले गर्दा नेपाल झनै पछि धकेलिन पुग्यो । कमल थापाद्वारा खेलिएको चर्चित मुसा प्रवृत्तिको राजनीति, २०५८ मा भएको राजा बीरेन्द्रको बंश बिनास यो समयका चर्चित घटना हुन् । । मेरो छोराको र छोरीको परिवार अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेका हुनाले हामी आमा बुवा पनि गत ४ वर्षदेखि पर्यटन भिसामा यहाँ आउने जाने गरिरहेका छौ । मैले यहाँ रहँदा बस्दा र नेपाली समुदायसँग भेटघाट गर्दा अनुभव गरेको कुरा, नेपालको गरिवी, बेरोजगारी, राष्ट्रको अति पिछौडापनप्रतिको दिक्दारीपन नै हो । पृथ्वी नारायण शाहले नेपालको एकिकरण गरे पश्चात बहादुर शाहको पालासम्म एकिकरणको प्रकृया अघि बढेपनि, त्यसपछिका शाहहरूले आपसी झै झगडा, सौता सौतामा आफ्नो छोरालाई राजकुमार बनाउने होडबाजिमा भइरहने झगडाले राणा शासनको उदय र १०४ वर्षको निरङ्कुश जहनिया शासन, बि.स. २००७ भन्दा पछाडि पनि शाह राजाहरूको छल्याइ, फट्याइ, धुर्त्याइले लोकतान्त्रिक शासन व्यबस्था कायम हुन नदिएर पञ्चायत जस्तो एकदलिय निरंकुश व्यबस्थाले बहुसंख्यक अशिक्षित नेपाली जनतालाई २०४७ सालसम्म अध्यारोमा रहन वाध्य पारेको तथ्य हामी सबै लाई थाहा नै छ ।

हामी अहिले पनि सन् २०१६ मा प्रति ब्यक्ति आमदानी ९१८ अमेरिकन डलर गरिरहेका छौ भने अष्ट्रेलियाको आम्दानी प्रति व्यक्ति ६२००२ अमेरिकअन डलर रहेको छ । हाम्रो यहाँको आम्दानिको एकदमै सानो हिस्सा नेपालको आफ्नो गाउ घरमा सहयोग गर्दा पनि त्यसले ठुलो प्रभाव र सकारात्मक परिवर्तन ल्याउन सक्ने उदाहरण मैले गरेको एउटा प्रयासको बारेमा बताउन गैरहेछु । कोगराहको होगबेन पार्कमा संधैं जसो भइरहने नेपालीको भेलामा मैले नेपालमा केही न केही काम गर्न अग्रसर होऔं, म यस्तो काम गर्न इच्छुक छु भन्दा केही नेपालीले अष्ट्रेलियन डलर ५०० को दरले सहयोग गर्न तयार भएको कुरा बताइ तत्काल दिन पनि खोज्नु भएको थियो तर मैले नेपालमा मेरो गाउँ तेमाल गाउपलिका वडा न ३ चैथलिमा गएर त्यहाँ भएका १८ माझी, १६ ब्राह्मण, ६ तामाङ, ६ नेवार परिवार गरी जम्मा ४६ परिवारमा प्रस्ताव राख्ने र सोही अनुसारको कार्यक्रम गर्न आवश्यक सहयोग माग गर्ने भन्दै मैले सहयोग तत्काल जम्मा नगरि नेपालमा २०७३ बि.स., मङ्सिर महिनामा गाउँमा गएर (१६ जनाले ५०० डलरको दरले दिदा हुने ८००० डलरको हुने नेपाली रुपैया करिब रु ६४०,००० ) अष्ट्रेलियामा केही दाताले आयआर्जनको कार्यक्रमको लागि प्रस्ताव राख्दा, गाउँका मानिसले पहिले त विश्वास गर्न गार्हो मान्नु भयो तर मैले पहिले पनि केही राम्रा काम गरेको ले, मेरो कुरा पत्याउनु भएर निम्न निर्णय गर्नु भयो ।

१. सो रकमलाई गाउँमा एउटा समिति “सुनकोशी उन्नत प्रविधी कृषक समुह” बनाइ दर्ता गर्ने, सोही समिति अन्तर्गत इच्छुक गाउँले रु ५०० तिरेर सदस्य बन्नु पर्ने (पछी फिर्ता नहुने गरी), र सो रकम ४ प्रतिशत ब्याज दरमा सोही सदस्यहरू बीच बिशेषत उन्नत र आधुनिक तरिकाले पशुपालन गर्ने प्रायोजनको लागि ऋण लगानी गर्ने, ११ महिनामा लिएको ऋण सावा र ब्याज वापस गर्ने र पालो गरेर अन्य किसान लाई ऋण दिने ।

२. ऋण लिने किसानले कम्तिमा पनि रु ५०,००० लिनै पर्ने, ताकी उसले केही आय आर्जन गरेर आफ्नो आर्थिक स्थितिलाई उचाल्न सकोस् । बाख्रा पालन गर्नेले कम्तिमा पनि ७ वटा पालन गर्नु पर्ने, बङ्गुर पालन गर्नेले कम्तिमा ८ वटा पालन गर्नुपर्ने, भैंसी पालन गर्नेले कमसेकम घरमा भाएको बाहेक एउटा थप खरिद गर्नै पर्ने, कुखुरा पालन गर्नेले कमसेकम ५०० वटा पाल्नै पर्ने, खोर वा गोठ सफा, उज्यालो हुनु पर्ने, फोहर (गहुत वा गोबर ) जम्मा हुन नहुने, पशुको बीमा गर्नै पर्ने, रोग प्रतिरोधक सुइ दिनै पर्ने, समितिले वा जिल्ला पशु सेवा कार्यालयले दिएको निर्देशन पालना गर्नुपर्ने निर्णय गरियो ।

३. ऋण लिंदा कुनै धरौटी राख्नु नपर्ने, तर ऋण लिंदाको सर्त मान्नै पर्ने, सकिन्छ भने तोकिएको न्युनतम पशुको संख्या भन्दा अझै बढी पाल्नु पर्ने, गाउँबाट एक वर्ष पछि मासु निर्यात गर्ने हुनु पर्ने शर्त पनि निर्णय गरियो ।

४. समयक्रममा यो संस्थालाई कृषी शहकारीको रुपमा बिकास गर्ने निर्णय गरियो ।

यति निर्णय भएपछि मैले काठमाडौं आएर, अष्ट्रेलियाका दाताहरूसङ्ग सहयोग रकम पठाइदिन अनुरोध गरें । तर, अविश्वास भएर हो वा उहाँहरूको समस्याको कारणले हो, २ जनाले ५०० को दरले, १ जनाले ३०० र १ जनाले १०० डलर गरी जम्मा १४०० डलर (यस मध्य पनि ५०० डलर मेरो घर बाट हो) मैले प्राप्त गरें र नेपाली रुपैया करिब रु १२०,००० भयो । मलाई यो रकम बोकेर, अपेक्षित भन्दा धेरै कम भएकोले, गाउँमा गएर कार्यक्रम संचालन गर्न सकिएला जस्तो लागेन र काठमाडौंमा केही साथीहरूसँग मेरो प्रस्तावित कार्यक्रमको बारेमा कुरा राख्दा रु २००० देखि ३०००० सम्म सहयोग जम्मा गर्दा १ दिनमै रु ३१०,००० थप हुन गएर जम्मा रु ४३०००० लिएर गाउँमा गएँ । गाउँमा ४६ परिवार रु ५०० तिरेर सदस्य बन्नुहुँदा अरु थप रु २३००० जम्मा भएर कुल पुजी रु ४५३,००० भएकोले तत्काल ९ जनाले रु ५०००० को दरले ऋृण लिनु भयो । २ परिवार माझीले कुखुरा पालन, २ परिवार माझिले बङ्गुर पालन, २ परिवार तामाङले बङ्गुर पालन, १ परिवार तामाङले भैंसी पालन, ३ परिवार ब्राह्मणले बाख्रा पालन र १ परिवार ब्राह्मणले भैंसी पालन शुरु गर्नु भयो ।

यी सम्पूर्ण कुराहरू व्यबस्थित गर्न एउटा ९ सदस्यिय समिती श्री अर्जुन प्रसाद पन्त लाई अध्यक्ष र श्रीलाल तामाङलाई उपाध्यक्ष, शिक्षक श्री दीर्घ पन्तलाई सचिव र मलाई पनि सदस्यमा मनोनित गर्दै गठन गरियो । मेरो पहलमा, समितिले बिधान पारीत गर्दै जिल्ला पशु सेवा कार्यालयमा संस्था दर्ता पनि तत्काल गरियो ।

एक चरण, सर्त अनुसार पालन गरिएकोले एक वर्षपछि हरेक परिवारले १ लाखदेखि डेढ लाखसम्म आर्जन गर्नु भएकाले, साँवा ब्याज तिर्नु भयो । यसैबीचमा वडा कार्यालयले अनुदानको रुपमा उन्नत गहुको जातको बिउ किन्न रु ११५,००० दिएकोमा बनेपा बजार गएर ल्याइ, बनेपाकै परल मुल्यमा, किसानको सहमति बमोजिम, उपलब्ध गराउँदा त्यो रकम पनि थप हुँदा र पहिलो वर्षाको ब्याज सहित गर्दा कुल पूँजी ५८५००० भएकोले अहिले ११ जना किसानले दोस्रो चरण पशुपालण गर्दै हुनुहुन्छ । गाउँ पालिकाले भुसा टुक्र्याउने बिजुली बाट चल्ने मेसिन १३ जना किसानलाई अनुदानको रुपमा उपलब्ध गराएकोले, घासको फारो हुने, एक भैंसीलाई खपत हुने घासले दुई वटा भैंसी पालिने भएकोले र दूध बिक्री र संकलन केन्द्र यसै वडाको घाट बजारमा रहेकोले भैंसी पालनमा किसानहरू आकर्षित भएका छन् ।

अहिले नेपालमा ब्रोएर जातको बिकासित जातको बोकाबाट प्रजनन गरी बाख्रा पालन गर्दा अत्यन्त फाइदा देखिएकोले हालसाल चितवनको जगतपुरबाट २ वटा ब्रोएर जातको बोका समेत लगिएको छ । ऋृण लिन नपाएका किसानहरूले पनि व्यक्तिगत लगानी र सरसापटी गरेर आ–आफ्नो क्षमता अनुसार पशुपालन गर्नु भएकाले, अहिले चैथली गाउँ नमुना गाउँ भएको छ ।

हालसाल, सहकारीमा दर्ता गर्न २ वटा साधारण सभा गर्नु पर्ने नियम अनुसार, २०७५ जेठमा र साउनमा साधारण सभा गरी दर्ताको लागि आवश्यक तयारी पूरा गरिएको छ । सहकारीमा हाल प्रदेश कानून बनि नसकेकोले दर्ताको लागि प्रतिक्षारत छ । सहकारीमा दर्ता गर्नको लागि यसै वडाको सरमथली, आधाबाट, कुडुवाल गाउँका किसानहरू पनि सदस्य बन्नु भएकोले सदस्य संख्या १३१ पुगेको छ ।

यसरी एकजना व्यक्तिको सानो प्रयासबाट एउटा गाउँ आत्मनिर्भर भएकोले, अरु समाज सेवामा रुची राख्नु हुने महानुभावहरूले समेत यस्तै वा अन्य कार्यक्रम गर्नु भएर गरीब देशको सानो सानो भागलाई आत्मनिर्भर गराउनुहुन अनुरोध समेत गर्दछु । म सँग सम्पर्क गर्न र बिचार आदान प्रदान गर्न कसैले चाहनु भयो भने तल दिएको मेरो सम्पर्क नम्बरमा कुनै पनि समय बिना हिच्किचाहट सम्पर्क गर्नु हुन अनुरोध छ ।