न्याभको बालदिवस : नेपाली स्कूलको सहभागिता बढ्दै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ३०, २०७६

यही १५ सेप्टेम्बर कोबर्ग टाउन हलमा न्याभले बालदिवस कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष धुमधामसँग आयोजना हुने बालदिवस यसपटक पनि धुमधामसँग गरिएको छ । भिक्टोरीयामा नेपाली समुदाय बढिरहेको खण्डमा नेपाली पाठशालाहरु पनि विभिन्न सर्ववमा खोलिरहेका छन् । यसपालीको बालदिवशमा तीनै सर्ववहरुबाट विभिन्न पाठशालाहरुको सहभागिता बाक्लो रहेको देख्न सकिन्थ्यो ।


बालबालिकाहरुको फेशन परेड हुँदै नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानाबाट सुरुवात गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरीयाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जन थिए । कार्यक्रममा बोल्दै योन्जनले हरेक वर्ष न्याभले यसरी भव्यताको साथ

बालदिवस मनाएर आफ्नो समुदायमा मात्रै नभई अरु समुदायको लागि पनि एक उदाहरणीय कार्य गरेको बताएका छन् । त्यसैगरी स्वागत मन्तव्य दिदैँ न्याभका अध्यक्ष तारा गैरेले बालदिवशपनि अरु चाडजस्तै भइसकेको र यसलाई परम्पराको रुपमा अघि बढाइरहनु पर्ने बताएका छन् ।

कार्यक्रममा न्याभ बाल चौतारी प्रेष्टन, न्याभ बाल चौलारी वेष्ट, हाम्रो नेपाली पाठशाला, बालसंसार ग्लेनरोय, बालबाटिका इपिङ्ग वोलाट, क्रेगिबन नेप्लिज ल्याङ्गोइज स्कूल तथा भुटनिज नेपाली इथिनिक स्कूलको रोचक सहभागिता र प्रस्तुति रहेको थियो । बालबालिकाहरुले नृत्य, गाना, चित्र तथा अन्य आफ्नो विभिन्न क्षमताहरु प्रर्दशन गरेका थिए ।


त्यस्तै कार्यक्रममा सहभागी भएका न्याभका पूर्व अध्यक्ष अनुपम पोख्रेलले हरेक वर्ष विभिन्न पाठशालाहरुको सहभागिता बढ्नु राम्रो रहेको तर कतै नेपाली पाठशाला नजाने नेपाली वालवालिकाहरु यो अवसरबाट वन्चित त हुने होइन भन्ने चिन्ता व्यक्त गरेका थिए । योसँगै उनले हरेक नेपाली अभिभावकहरुले आफ्नो छोराछोरीलाई नेपाली भाषा, संकृतिको मुल्यमान्यता सिकाउन भएपनि नेपाली पाठशालाहरु पठाउनुपर्ने बताएका छन् ।