छोरीलाई चिठ्ठी

-- शुभांगी कोइराला / प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६
प्रिय छोरी
तिमिलाई यो धर्ती देखाउने दिनहरु गन्दै बस्दा मेरा कल्पनाले पनि कहिले आकाश छुन्छ, त कहिले पुरा ब्रम्हाण्डलाई नै फन्को मार्छ। हो मलाइ थाहा छ धेरै कल्पनामा डुब्नु पनि राम्रो होइन तर पनि धेरै पटक मैले तिम्रो आकृती मेरो मन र मष्तिस्कमा कोरेकी छु । म सोच्छु तिमि म जस्तै हुनेछौ वा उनि जस्तै झन् राम्री, अनि फेरि सोच्छु जुन रुप रंगमा आए पनि तिमि मेरो मुटुको टुक्रा हौं, मेरो मातृत्वमा फक्रिएको सुन्दर फुल।
यस्तो लाग्थ्यो जीवनमा मैले धेरै खुसी र सुखहरु भोगेकी छु तर होइन रहेछ जब तिमि म भित्र आयौं बल्ल मैले ‘आफु’ हुनुको खुशी महशुस गरें । यस अगाडीका सबै खुसीहरु लाई फिक्का पर्दै तिम्रो उपस्थितले मलाई संसार कै खुसी मध्येको प्राणी बनाएको छ। अहिले म जँहा जान्छु तिमि नै मेरो अघि पछि र पहीलो स्थानमा छौं । खाँदा, बस्दा, हिड्दा, सुत्दा, ऊठदा हरेक क्षण तिमिलाई नै सोचेको हुन्छु । तिमिले हानेका ति साना लात्तीहरु अनि तीम्रा साना हातहरु ले हान्दा कति मिठो आन्नद आउंछ, कुतकुतीको महसुस हुन्छ जुन शब्दमा ब्याख्या गर्न नै सक्दिन । यस्तो लाग्छ तिम्रा ति चालहरु ले “मलाइ बिर्सेको हो” भनेर याद गराउन खोजेका छन् त्यसो त तिमीले कम्प्लेन गर्नु पर्ने गरि तिमिलाई बिर्सेको कुनै पल र क्षण सायदै होला । बरु मेरो बसाइ, सुताई, हिडाई वा कुनै पनि मेरो कारणले तीमीलाई असर त हुदैन भन्ने डरले मलाइ चिमोटी रहन्छ अनि तिमि यसो चल्दा सोध्न मन लाग्छ “छोरी तिमीलाई गार्हो त भएन नि ?” आफुले आफुलाई सोध्छु अनि आफै तिम्रो उत्तर बनाउंछु अनि थोरै लजाएर मुसुक्क आफै हाँस्छु।
तिमि जब म मा अङ्कुरायौ मायाका परिभाषा गर्ने एक से एक दार्शनिक/लेखक र सर्जकहरु का परिभाषा र सृजनाहरु आपुग-अपुग जस्तो लाग्न थालेको छ ।  यस्तो लाग्छ मायाको परिभाषा दिन एउटा आमालाई हेरे पुग्छ । सोच्दैमा मन यति बेचैनी भइदिन्छ जब तिमीलाई मैले मेरा यी दुइ हातले समाएर छात्तीमा टासुंला मेरो अवस्था के होला मेरो खुसिका रेखाहरु ले ग्राफका परिधि पार गर्छन होला, माया नाप्ने थर्ममिटर हुँदो हो त थर्म मिटरको पारो कति माथि पुग्दो हो।
प्रिय छोरी !
तिमीले हाम्रो जीबनलाई हरेक रुपबाट जीबन्तता दिएकी छौं। हुन त तिमि शृष्टिकी फुल हौ,  शब्दमा बर्णन गर्न नमिल्ने आमा बन्ने सौभाग्यको खुसीमा हराउदै गर्दा म एक्कासी सोच्न पुग्छु सन्तान नहुनुको पिडा र हाम्रो समाजले निसन्तानलाई हेर्ने नजर। स्वयं कसैले चाहेर भन्दा पनि यो प्रकृतिको नियममा रहेर घटित हुने यथार्थता हो, मिठो संयोग पनि हो भन्ने धेरैले नबुझेकोमा कता-कता दुख पनि लाग्छ। तिम्रो यादमै हराउदै गर्दा पनि संसारमा भएका बिबिध घटना र अमानविय कुराहरु ले मलाई झसंग झस्काई रहन्छ। यस्तो लाग्छ म भित्र तिमि कति सुरक्षित छौँ, भोलि यहाँको भाग दौड स्वार्थी संसारमा तिमि आफुलाई अभ्यस्त बनाउन सकौली कि नसकौली ? फेरि आफ्नै जीवनको भाग दौड र संघर्ष संग तिमिलाई जोड्न मन लाग्छ अनि तिम्रो तो कोमल निधार सुम्सुमाएर भन्न मन लाग्छ “छोरि तिमि म जस्ती नभए, मलाई जस्तो तिमिलाई नपरोस् ” म तिम्रो आमा बनेर यी शब्दहरु लेख्दै गर्दा जीवनका धेरै मोडहरु मा अरुले के भन्लान ? समाजले के भन्ला ? परिवार ले के भन्ला ? भन्ने डर, चिन्ता र भय संग म धेरै चोटी जुधें, हो धेरै चोटी लडें तर हार मानिन, हार खाइन । अहिले म आफ्नो जीवन संग खुसी छु र जस्तो सुकै परिस्थिति पनि समाना गर्न सक्छु भन्ने साहस सहितकी हिम्मत्वाली बनेकी छु ।
म चाहान्न मेरो समय जस्तो र म मा जे घटित भयो त्यो तिमीमा दोहोरियोस, तिमि आफु खुद आफ्नो चाहना र उदेश्यको लागि जिउने छौं । कहिले काँही स्वार्थीहरु को जालझेलमा संसार अल्झेको जस्तो मलाइ लागेको थियो तिमीलाई पनि लाग्न सक्छ । मान्छे धन सम्पति र पैसाको पछाडी दौडिएको प्रष्टै देखिन्छ पनि । त्यसो त धेरै सम्बन्ध र मित्रताहरु पैसाले तौलनेहरु को कमि पनि छैन यहाँ । तर ति सम्बन्ध र मित्रताहरु पानीका फोका जस्तै हुन् जब पैसा सकिन्छ या कामि हुन्छ ति फोकाहरु आफै फुट्छन् । त्यसैले यस्ता सम्बन्धबाट टाढा बस, जो तिम्रो भित्रि सुगन्धले मोहित भएर तिमि संग जोडिन्छन् त्यो स्वार्थ रहित हुन्छ दिगो हुन्छ ।  यसो भन्दै गर्दा नभुल यो संसार माया, ममता र सेवाले अडेको छ, दिनुमा जति लिनुमा मजा छैन । त्यसैले तिमि आफु भित्रको कस्तुरीलाई चिन्दै मेरो मात्र होइन, हाम्रो मात्र होइन यो समाज र देशको छोरी बनेर सुगन्ध छोड्न सक्ने बन ।  एउटा आमाको तिमि प्रतिको आशा भरोशा र चाहना अहिलेलाई यति नै हो । बाँकि तिमि यो धर्तिमा पाइला टेके पछि हामि पेट भरि भरि कुरा गरौंला।
तिम्रो आगमनको प्रतिक्षामा
उही तिम्री प्यारी आमा
८ अप्रिल २०२०