नोकियासंग बदला लिँदै चीन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७

चिनियाँ कम्पनी हुवावेको फाइभ जी प्रविधिमाथि अमेरिका र बेलायतले प्रतिबन्ध लगाइसकेका छन् । उक्त प्रतिबन्धलाई युरोपेली युनियनले समेत अंगिकार गर्ने सम्भावना बढिरहेको बेला चीनले युरोपेली कम्पनीहरुसँग बदला लिने योजना बनाइरहेको बताइएको छ । युरोपेली युनियनले हुवावेको फाइभ जी प्रविधिको प्रयोगमा बन्देज लगाएको खण्डमा युरोपेली टेलिकम कम्पनीहरु नोकिया तथा इरिक्सनसँग त्यसको बदला लिने सोच चीनको रहेको वालस्ट्रिट जर्नलले दाबी गरेको छ । बेलायतले गत हप्ता आफ्ना टेलिकम अपरेटरहरुलाई हुवावेसँग फाइभ जी नेटवर्कका कुनैपनि प्रविधि खरीद नगर्न आदेश दिएको छ । अहिलेसम्म फाइभ जी प्रविधिमा हुवावे कम्पनीबाट खरिद गरिएका उपकरण तथा प्रविधि सबैलाई सन् २०२७ सम्ममा हटाइ सक्नसमेत बेलायत सरकारले निर्देशन दिएको छ । हुवावेविरुद्ध अमेरिकी नेतृत्वको यस अभियानबाट स्विडेनका नोकिया र इरिक्सन कम्पनीहरुलाई प्रत्यक्षरुपमा सबैभन्दा धेरै फाइदा पुग्ने देखिएको छ । यस परिप्रेक्ष्यमा चीनको वाणिज्य मन्त्रालयले निर्यातमाथि नियन्त्रण गर्ने योजना बनाएको छ । जसबाट नोकिया तथा इरिक्सन कम्पनीले चीनमा उत्पादित प्रडक्टहरु अन्य देशमा निर्यात गर्नमा बाधा उत्पन्न हुनेछ ।