बित्यो २०१५ थोरै खुसी धेरै पीडा

-- नारायण खड्का / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

नयाँ बर्ष ३६५ पेजको खाली किताबको पहिलो पन्ना हो । यसमा अवश्य केही राम्रो लेख ।’ प्रख्यात अमेरिकी गायक तथा संगीतकार ब्राड पेश्लीले भनेजस्तै यो किताबको पहिलो पाना पल्टिसकेको छ । यो नयाँ बर्ष सामान्यतया: हामी नेपालीहरूले मनाउने बिक्रम संवतको नयाँ बर्ष नभएपनि पछिल्लो समयमा जनवरीको पहिलो दिनलाई नयाँ बर्षका रुपमा मनाउने चलन बढ्दै गएको छ । यी ४३ बर्षे गायकले भनेजस्तै हामीले यो खाली पानाको शुरुमा केही राम्रो लेख्यौ वा लेखेनौ तर यसले हाम्रो समग्र बर्ष कसरी बित्नेछ भनेर भविश्यवाणी गर्नु त्यति ब्यवहारिक भने नहुनसक्छ ।
हामीबाट २०१५ गइसकेको छ । हामीमध्ये धेरैले सन २०१५ लाई आफ्नै किसिमले मुल्याँकन गरिरहेका छौं र वितेको सालमा भएका गल्ती वा रहेका कामहरूलाई कसरी पुरा गर्ने योजना समेत बनाइसकेका छौं होला । २०१५ ले अवश्यै ब्यक्तिपिच्छे राम्रा र नराम्रा अनुभवहरू छोडेर गएको छ । जसलाई तपाई हामी सोचविचार गरिरहेका हौला तर २०१५ हाम्रो मातृभूमिको लागि भने धेरै राम्रो बनेर आएन । साँच्चै भन्नुपर्दा नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने २०१५ बिर्सन लायक नै रह्यो । यसले केही खुसीहरू अवश्यै दियो तर खुसीको तुलनामा दुख धेरै दिएर गएको छ ।
नेपालमा हजारौं जनताको ज्यान जाने र हजारौंलाई घरबारविहिन बनाएर गएको महाभुकम्प, आन्दोलनका नाममा महिनौदेखि जारी नाकाबन्दी लगायतका घटनाले देशलाई थप त्रासदीमा लिएर गयो भने करिब ६ दशकपछि नेपालीहरूले आफुले बनाएको संविधान पाए । संविधान पाएपनि त्यसको सही कार्यन्वयन नहुँदाको अन्यौल समेत यही २०१५ ले नै दियो । नेताहरूको पदलोलुपता र देशप्रतिको अनुत्तरदायित्व पनि २०१५ मा अझ प्रष्ट भयो । फेरि पनि भन्नुपर्दा वितेको यो अंग्रेजी बर्षले नेपालीहरूलाई खुशी र उत्साह कम र दुख र बिर्सनलायक घटनाहरू धेरै दिएर गयो ।
हामीले नेपाली टाइम्सको यो अंकमा अष्ट्रेलियाभरि रहनुभएका केही ब्यक्तिहरूलाई समग्र २०१५ ले कस्तो अनुभव दिएर गयो भन्ने बारेमा छलफल गरेका छौं । उहाँहरूको भनाईलाई हामीले संक्षेपमा प्रस्तुत गर्ने कोशिष गरेका छौं ।

अभिमानसिंह बस्नेत, क्विन्सल्याण्ड
ब्यक्तिगत रुपमा भन्नुपर्दा २०१५ मेरो लागि उपलब्धिमूलक रह्यो । एनआरएन उपाध्यक्ष हुने अवसर मात्र पाईएन कि यससँगै अन्य जिम्मेवारीहरू समेत थपियो । ब्यवसाय विस्तार गर्ने योजना र ब्यवसायबाट आएको केही प्रतिशत समाजमा लगाउने योजना समेत यही बर्षमा बन्यो त्यसैले पनि ब्यक्तिगत रुपमा यो बर्ष उपलब्धिमूलक नै रहयो भन्नुपर्छ । तर एउटा नेपाली भएका नाताले भन्नुपर्दा समग्रमा २०१५ ले साह्रै खुशी र उत्साह भने दिन सकेन् । नेपालमा गएको भुइचालो र पछिल्लो समयमा जारी आन्दोलन र नाकाबन्दीले देश र जनतालाइ उकुसमुकुस पारिरहेको अवस्था छ । त्यसका साथै राजनीतिक रुपले समेत यस बर्षले खासै उत्साह र खुसी दिन सकेको अनुभव हुन सकेन् । तर राम्रो कुरा के भयो भने सामाजिक रुपमा मानिसहरू अलि धेरै चेतनशील भएको अनुभव भने गर्न पाइयो । जे होस, आफुहरू नेपाली भएकाले समेत हुनसक्छ, यो वितेको बर्षले खुसी र उत्साहको बर्ष भन्दा पनि तुलनात्मक रुपले अलि कष्टकर नै रह्यो भन्ने मेरो अनुभव हो ।

भीष्म गौतम, डार्विन,
२०१५ एकदमै कष्टपूर्ण रह्यो । ब्यक्तिगत रुपमा भन्नुपर्दा तुलनात्मक रुपले सफल रह्यो तर समग्रमा भन्नुपर्दा यो बर्षले बिर्सनलायक घटनाहरू नै दिएर गएको छ । म यस बर्षमा नेपाल जाने अवसर समेत पाएँ र आफ्नो देशलाई नजिकबाट नियाल्न पाएँ तर अहिलेको हाम्रो देश पहिलेको भन्दा खराब देखें । आन्दोलनले देश थिलथिलो भइसकेको छ भने यसै बर्षमा आएको महाभुकम्पले देशलाई अझ समस्यामा पारेको छ । झन त्यसमा पनि हाम्रो नेताहरूको अदुरदर्शिताले थप समस्या र अन्यौल सृजना गरिदिएको भान हुन्छ । ब्यक्तिगत रुपमा भन्नुपर्दा भने वितेको बर्ष सफल नै रह्यो । नर्दन टेरीटोरीको युनियन अवार्डबाट सम्मानित हुने अवसर पाएँ जुन मेरो लागि अत्यन्तै अविश्मरणीय थियो भने यसैबर्ष युनाइटेड भ्वाइसको एक्जुकेटिभ सदस्य बन्ने अवसर समेत मिल्यो । यद्यपी, समग्रमा ब्यक्तिगत कुरालाई छोडेर हेर्ने हो भने २०१५ ले धेरै सकारात्मक र खुसी नै हुनुपर्ने कुनै कारणहरू दिएर गएन् ।

अर्चना पाण्डे, सिड्नी,
२०१५ ले ब्यक्तिगत र सामाजिक र देशब्यापी रुपमै समेत केही उत्साह दिएर गयो जस्तो मलाई लाग्दैन् । ब्यक्तिगत जीवनमा पनि कुनै उल्लेखनीय परिवर्तन आएन् । अहिलेसम्म जे थियो त्यही नै चलिरहेको छ । तर देश र हाम्रो गाउँसमाजका लागि भने यसले पीडा र दु:ख बाहेक केही पनि दिएन जस्तो लाग्छ । हजारौं जनताको ज्यान जानेगरि गएको भुईचालोले देश माथि उठ्न नपाउँदै आन्दोलनका नाममा देश नै ठप्प भयो । अझैसम्म ठप्प भइरहेको छ । जुन समस्यालाई समाधान गर्न नेताहरू अघि बढ्न सक्नुपथ्र्यो त्यो पनि हुन सकेन् बरु अझ सत्ता र झगडामा नै अल्मलिइरहे । एउटा राम्रो कुरा चाहिं यहाँ रहेका नेपाली समुदायहरूमा भने अलि एकता देख्न पाइयो त्यो राम्रो कुरा हो जस्तो लाछ । त्यसबाहेक वितेको बर्षले ब्यक्तिगत, सामाजिक र देशब्यापी रुपमा सम्झनयोग्य उत्साह र खुशीहरू दियो जस्तो मलाई लाग्दैन् ।

कुशुम पोखरेल, मेलबर्न
वास्तवमा २०१५ उथलपुथलमय रह्यो । उतारचढावहरू दिएर गयो यो बर्षले ब्यक्तिगत र सामाजिक जीवनमा पनि । लाग्छ, २०१५ मा धेरै कुराहरू जानियो र सिकियो । जीवनको पुर्वाधमा धेरै उतारचढाव आएपनि पछि गएर सामान्य बन्यो तर देशको पुर्वाधमा आएको उथलपुथल भने अहिलेसम्म उथलपुथल भइरहेको छ । भुकम्प र नाकाबन्दीले देशलाई थिलथिलो त बनायो नै त्यसले यहाँ रहेका हामीहरूलाई सन्तुष्टि र सहजता महसुस गर्न दिएन् । यस बर्षमा नेपाली समुदाय समेत अलि अघि बढेको अनुभव गर्न पाइयो । तर अलि खडकिएको चाहिं कला संस्कृती मनाउने क्रममा हामी नेपालीहरू अलि बढी देखासिकी गर्न थाल्यौं कि भन्ने भान समेत पऱ्यो तरपनि यसलाई त्यस्तो नकारात्मक सन्देशको रुपमा भने लिनुहुृँदैन भन्ने लाग्छ । सबैभन्दा पीडा यसबर्ष आफ्नो देश नेपालमा भएको समस्या र दुखले नै दियो । चाहेर समेत नेपाल जाने वातावरण बन्न सकेन भने नेपालमा रहेका आफ्ना दाजुभाईहरूको दु:ख पीडा देखेर मन दुखिमात्र रह्यो । त्यसैले २०१५ ले खुसीभन्दा पनि पीडा अलि बढी दियो कि जस्तो लाग्छ ।

मञ्जु पौडेल, एडिलेड,
मेरो लागि २०१५ ले केही नयाँ उम∙ र खुशी ल्याएन् । साँच्चै भन्नुपर्दा २०१५ एकदमै दुखद रहयो । अरुभन्दा पनि नेपालमा आएको प्राकृतिक बिपत्ति र आन्दोलनको नाममा ल्याइएको पीडाले झन मर्माहत बनायो । आफ्नो सामान्य जीवन बाँच्न नपाउने अवस्थाको सृजना भयो भने औषधि उपचार र दैनिक उपभोगका सामानहरू नपाउने अवस्थाको सृजना गरियो । ब्यक्तिगत रुपमा भन्नुपर्दा समेत केही उपलब्धिमूलक काम भएन् । जीवन जसरी चलिरहेको थियो त्यसरी नै चलिरहेको छ । त्यसमा यो बर्षले कुनै सकारात्मक वा नकारात्मक परिवर्तन ल्याएन् । बरु सामाजिक रुपमा भने केही परिवर्तन देख्न पाइएको छ । आफ्नो चाडपर्व मनाउनका लागि नेपालीहरू अलि संगठित र उत्साहित भएको पाइयो । २०१५ लाई मेरो आँखाबाट हेर्ने हो भने ब्यक्तिगत रुपमा फगत एउटा साल बित्यो भने देशको लागि हेर्ने हो खुसी र उत्साहको बर्ष रहेन् ।

चित्र तुम्बाहाम्फे लिम्बु, सिड्नी
नेपालको बारेमा कुरा गर्नुहुन्छ भने अवश्यै राम्रो बर्षको रुपमा २०१५ बितेन । राजनीतिक नेताहरूको अदुरदर्शिताका कारण राजनीतिक समस्याहरू आए । जुन अहिलेसम्म समाधान हुन सकेको छैन् । अर्काेतिर यही बर्ष महाभुकम्पका कारण हजारौं नेपालीले ज्यान मात्र गुमाउन परेन कि घरबारविहिन भएर समेत बन्नुपऱ्यो । त्यसले समेत अर्काेतिर सहन नसक्ने पीडा दियो । सामाजिक रुपमा भन्ने हो भने देशलाई प्रवासमा रहेरै भएपनि नजिकबाट बुझ्ने प्रयास गरियो । नेपालको चित्त नबुझेको कुरामा यसबर्ष यहीं रहेर समेत सशक्त विरोध गरियो भने आफ्नो देश पीडामा रहेको बेलामा सक्दो सहयोगको पहल समेत गरियो । ब्यक्तिगत रुपले समेत २०१५ ले धेरै ज्ञान र शिक्षा दिएर गयो । सामाजिक कार्यहरूमा अन्य बर्षको भन्दा तुलनात्मक रुपले ब्यस्त रहियो । सामुदायिक गतिविधीहरूमा समेत साताजसो नै ब्यस्त भइयो । समग्रमा २०१५ सन्तोषजनक नै बित्यो भन्नुपर्ला । तर देशका लागि भने त्यति सकारात्मक हुन सकेन् ।

नबिन पन्त, एडिलेड
सन् २०१५ नेपालले एक तर्फ महाभुकम्प, मधेश आन्दोलन संगै नाकाबन्दीका समस्या भोग्नु पर्यो भने अर्को तर्फ नेपालीहरूले लामो समयदेखि आफ्नो संबिधान गराउने सपना पूरा भएको छ । त्यसैले पनि प्रबासमा बस्ने हामी नेपालीहरूको लागि २०१५ हेर्दा देशले पाएको सफलताको खुसी संगै देशले भोग्नु परेको पिडामा यहाँ रहेका मनहरू धेरै दुखे ।

साउथ अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई हेर्ने हो भने सन् २०१५ धेरै नै उपलब्धि मुलक रहेको छ । करिब अनुमानित पन्ध्र सय नेपालीहरूको जनसंख्या रहेको यस ठाउमा बिगतमा छुट्टै छुट्टै काम गरिरहेका सस्थाहरू अहिले सामाजिक एकता नै हाम्रो सफलता हो भन्ने विचारलाई आत्मसाथ गर्दै एकिकृति भएर यहाँ हुने सामुदायिक गतिबिधिहरूमा सक्रिय रहेका छन् । बिगतमा भन्दा नेपाली समुदायले यस बर्ष आफ्नो पहिचान विस्तार गर्न अन्य समुदयसंग पनि कार्यक्रमहरू सहकार्यमा गर्नु र यहाँको मल्टीकल्चर समुदायको नेतृत्वले पनि नेपाली समुदायलाई प्राथमिकतामा राख्नुले यसलाई सफलताको रुपमा लिन सकिन्छ ।