महामारीमा संवेदना

-- अभय श्रेष्ठ / प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७८

सत्य कुरा

‘कोरोना भाइरसमा उत्परिवर्तन (म्युटेसन) भइराखेमा सम्भवतः हालको भ्याक्सिनले कामै नगर्ने नयाँ प्रजातिको कोरोना भाइरसको उत्पत्ति हुन सक्छ । त्यसकारण भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउनु जतिकै महत्वपूर्ण छ डार्विनको उत्पत्तिको सिद्धान्त बुझ्नु ।’ गत माघ २८ गते कान्तिपुरमा विज्ञान स्तम्भकार उत्तमबाबु श्रेष्ठले लेखेका यी शब्द मननीय छन् । संसारभरि र नेपालमै पनि दुई डोज कोरोना खोप लगाइसकेकालाई पनि कोभिड पोजिटिभ देखिएपछि यस्तो महसुस हुनु स्वाभाविक हो । हामी कामना गरौँ, अहिले उपलब्ध खोप कामै नलाग्ने गरी कोरोना भाइसको उत्परिर्तन भइसकेको नहोस् । मानव सभ्यतालाई नै धक्का दिने खालको परिस्थिति आइसकेको कल्पना अहिल्यै नगरौँ । तर त्यसप्रति सचेत रहनुचाहिँ अनिवार्य छ ।

डार्विनको विकासवाद
सन् १८५९ नोभेम्बर २४ मा बेलायतका जीव वैज्ञानिक चाल्र्स डार्विनको संसारको विचारलाई नै बदलिदिने किताब ‘अन द ओरिजिन अफ स्पेसिज’ छापियो । सात वर्षअघि बेलायतको फोलियो सोसाइटीले त्यतिन्जेलको सबैभन्दा प्रभावशाली पुस्तकबारे मत संकलन गर्दा सबैभन्दा प्रभावशाली बीस पुस्तकमध्ये डार्विनको यही पुस्तक शीर्ष स्थानमा रह्यो । डार्विनका अनुसार जीवन संघर्षका क्रममा आइपर्ने प्राकृतिक व्यवधान, जस्तै रोगव्याधी, जयवायु परिवर्तन, बास समस्या, खाना र प्रजननका लागि अन्य समूहसँग हुने प्रतिस्पर्धा आदिका कारण जीवहरूमा आउने नयाँ गुणहरूको छनोटका लागि दबाब झेल्नुपरिरहेको हुन्छ । यस्तो दबाबले जीवनलाई नयाँ परिस्थितिमा फिट हुन उत्प्रेरित गरिरहेको हुन्छ ।
डार्विनका अनुसार हरेक जीव अर्थात् मान्छे, भाइरस, ब्याक्टेरिया, वनस्पति सबैका लागि प्राकृतिक छनोटको उही नियम लागू हुन्छ । प्रतिकूल परिस्थितिमा फिट हुन जीवले जुन अंग बढी आवश्यक छ, त्यसलाई सक्रिय राख्छ र उसका भावी सन्तानमा क्रमशः त्यही अंग बढी विकसित हुँदै हुँदै जान्छ । कोरोना भाइरसले पनि गर्ने त्यही हो । मान्छेले रोगबाट बच्न विभिन्न औषधि र भ्याक्सिन ल्यायो । हाम्रो शरीरमा हुने भाइरसले आफू बाँच्नलाई त्यसविरुद्ध संघर्ष गरिरहेको हुन्छ । धेरैजसो अवस्थामा भाइरस र ब्याक्टेरिया औषधिसँग पराजित हुन्छ र मर्छ । तर यदाकदा असंख्य भाइरस वा ब्याक्टेरियाको समूह औषधिको आक्रमणविरुद्ध संघर्ष गर्दागर्दा उत्परिवर्तन भएर औषधि टाँसिन जाने उसको शरीरको अंग नै गायब हुन्छ । यस्तो अंग नै हराएपछि औषधि प्रभावहीन हुन पुग्छ । औषधिलाई प्रभावहीन बनाउने भाइरस वा ब्याक्टेरियाको यही गुणलाई प्रकृतिले छनोट गर्छ र भावी पुस्ताका भाइरसलाई त्यस्ता औषधिले मार्नै नसक्ने हुन्छ । तिनलाई मार्न फेरि अनुसन्धान गरेर त्यही प्रकृतिको नयाँ औषधि बनाउनुपर्ने हुन्छ । भाइरस वा ब्याक्टेरिया निकै छिटो प्रजनन हुने लचिला आनुवांशिक गुण भएका जीव हुन् । मान्छेलगायत ठूला जीवमा यस्ता परिवर्तन देखा पर्न करोडौँ वर्ष लाग्ने हुन्छ । तर, उत्परिवर्तनले ल्याउने परिवर्तन र परिवर्तित स्थितिमा अनुकूल भएर बाँच्न भाइरसहरूलार्ई धेरै समय लाग्दैन ।
हाल कोरोना भाइरसका नयाँ प्रकारहरू देखा परिरहेका छन् । यसको तेस्रो प्रकार पनि देखा परिसकेको समाचारहरू आएका छन् । हाल उपलब्ध खोपले नयाँ प्रकारको भाइरसलाई समेत नियन्त्रण गर्ने भनिएको छ । सायद यो दोस्रो प्रकारको भाइरससम्मलाई मार्ने खोप हो । तेस्रो प्रकारको भाइरस हालै देखा परेकोले सायद यसले काम नगर्न सक्छ । त्यसका लागि नयाँ प्रकारको भाइरसको अध्ययन गरी त्यसै अनुसारको नयाँ खोप बनाउनु जरुरी हुन्छ होला । दुई पल्ट खोप लगाइसकेकालाई पनि कोभिड पोजिटिभ देखिनुको कारण यही हुन सक्छ । अथवा खोप लगाए पनि केही प्रतिशत मान्छेलाई यसले काम नगर्ने भनिएअनुसार नै भएको पनि हुन सक्छ ।
डार्विनको उत्परिवर्तन सिद्धान्त बुझेर कोरोना भाइरसको सम्भावित नयाँ उत्परिवर्तनलाई समेत मार्न सक्ने खोप बनेपछि नै बल्ल कोरोना प्रकोपको अन्त्य हुन्छ होला । तर, कोरोनाको उत्परिवर्तनकै गतिमा नयाँ खोप बन्नु जरुरी हुन्छ जुन कम्ती चुनौतीपूर्ण छैन भन्ने हेक्का राख्नु जरुरी छ ।

भयावह स्थिति
मलाई कोरोनाको प्रकोप र भयावह स्थितिबारे सकेसम्म कुनै समाचार वा आलेख पढ्नु नपरोस् भन्ने लाग्छ । त्यसले ल्याउने भयावह मानसिक स्थितिलाई शब्दमा वर्णन गर्न गाह्रो छ । तथापि त्यसबाट भाग्न सकिन्न । यस परिस्थितिमा आफै त्यसबारे लेख्न बाध्य छु जसले थोरै संख्यामा भए पनि मान्छेलाई बचाउन योगदान ग¥यो भने ठूलो कुरा हुन्छ ।
स्थिति जति भयावह भए पनि त्यसबाट बच्न सचेत हुनु उत्तिकै जरुरी छ । छिमेकी मुलुक भारतको हालत हेर्ने हो भने स्थिति अत्यासलाग्दो छ । त्यहाँ प्रतिदिन झन्डै चार लाख नयाँ रोगीहरू देखा परिरहेका छन् । यो त पीसीआर टेस्टबाट औपचारिक रूपमा प्रमाणित आँकडा भयो । परीक्षण गर्न नसक्ने र नपाएका अरू कति रोगी होलान् । अनि प्रतिदिन झन्डै चार हजारको संख्यामा त्यहाँ संक्रमितको मृत्यु भइरहेको छ । रोगीले उपचार पाइरहेका छैनन् । उपचार पाउनेले पनि अक्सिजन पाउन हम्मे छ । त्यहाँ भाइरसको तेस्रो प्रकारसमेत भेटिइसकेका समाचारहरू आइरहेका छन् । भारतको त्यो भयावह स्थिति नेपालमा नआउला भनेर ढुक्क हुन सक्ने स्थिति छैन । स्वास्थ्य मन्त्रालय, अस्पताल र डाक्टरहरूले यहाँ पनि हात उठाउन थालिसके । प्रतिदिन यहाँ पनि पाँच हजार नयाँ संक्रमित देखा पर्न थालिसके । गम्भीर बिरामीले समेत अस्पतालमा बेड नपाउने स्थिति आइसक्यो । अक्सिजनको अभाव उस्तै छ । पहुँचवालाले बाहेक अब गरिब र पहुँचविहीनले उपचारै नपाएर ज्यान गुमाउनुपर्ने भयावह स्थिति सामुन्ने छ ।
यस स्थितिमा सरकार छ, उसले बचाउँछ भनेर निश्चिन्त रहनु अत्यन्त आत्मघाती निर्णय हुनेछ । हामीकहाँ सरकार कस्तो छ, त्यो लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हालैका सत्ताका खेल हेरे काफी हुन्छ । केन्द्रको हालत त बताइसक्नु छैन । सरकार जोगाउने वा ढाल्ने खेलमै चौथो ठूलो पार्टी फुटको सँघारमा छ । यस्तो स्थितिमा नेपाल मात्र होइन, संसारभरिका सबैले दुई सूत्र मन, वचन र कर्मले पालना गर्नु जरुरी छ । एक, म आफूलाई कोरोना लाग्न दिन्नँ । दुई, कथम् लागिहाले अरूलाई सार्दिनँ । त्यसका लागि हामीले विश्व स्वास्थ्य संगठनले तोकेका सबै स्वास्थ्य सावधानी अपनाउनु जरुरी छ । त्यसले कोरोनाबाट मात्र होइन, अन्य रोग लाग्नबाट समेत बचाउँछ । साथमा फोक्सो, मुटु र शरीरका अन्य अंगलाई मजबुत पार्ने, शरीरलाई अक्सिजन आपूर्ति गर्ने प्राकृतिक तरिका, योग अभ्यास गर्नु अत्यन्त जरुरी छ । दक्ष योग गुरुहरूका युट्युबमार्फत हामीले यो अभ्यास सिक्न र गरिरहेकाले निरन्तरता दिनु अनिवार्य छ ।

avaya.writes@gmail.com