अनेसास एनएसडब्लुको साधारण सभा सम्पन्न, डा. प्रकाश पौडेल कार्य समितिको अध्यक्ष चयन

ममता तिवारीको कविता संग्रह "समयको छाल" को लोकार्पण
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ २९, २०८०

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एनएसडब्लु सिड्नी अष्ट्रेलियाको छैठौं बार्षिक साधारण सभा ३ फेब्रवरीका दिन सिड्नीमा सम्पन्न भएको छ। साधारण सभाले २०२३ -२०२५ कार्यकालको लागि डा. प्रकाश पौडेल अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । संस्थाको उपाध्यक्षमा चतुर्भुज खरेल, महासचिवमा भावना पराजुली, सचिवमा अस्मित रेग्मी, कोषाध्यक्षमा स्वेता मैनाली, पब्लिक रिलेसन अफिसरमा मुक्तिराम पोखरेल, सदस्यहरुमा डा.मधु पुडासैनी, डा. राजु मानन्धर, ई. बिनोद महर्जन, महिमा दिप फुल्लेल र सिता कंडेललाई चयन गरिएको अनेसासले जनाएको छ । त्यसै गरि संस्थाको सल्लाहकारमा लेखक एवं साहित्यकारहरू ओम ढुंगेल, सौरभ किरण, राम कोइराला र डा. जीभनाथ लम्साल चयन हुनु भएको छ।

संस्थाको निबर्तमान अध्यक्ष ममता तिवारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अथितिको रुपमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रि. वि. वि. नेपाली बिभागकी पूर्व प्राध्यापक गार्गी शर्मा, अनेसास ओसिनियाका केन्द्रिय उपाध्यक्ष महेश्वर शर्मा, अष्ट्रेलियाका सम्मानित सामाजिक अभियन्ताहरु इन्द्रा वन र डा. नारायण प्रधान र एनआरनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलको उपस्थिति रहेको थियो। पानसमा दीप प्रज्वोलन गरि नेपाली राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने आकर्षक नृत्य शब्दमाला बिद्यालय मक्वारी फिल्ड्सका विधार्थीहरु श्रेया पौडेल र विदुषी बश्यालले प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा प्रतिज्ञा अधिकारी र सानो बाबु आयाम घिमिरेले कविता वाचन गरेका थिए।

त्यसको लगतै कवयित्री ममता तिवारीको कविता संग्रह “समयको छाल” को लोकार्पण नेपाली समुदायका अगुवाहरू एनआरएन अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रा. गार्गी शर्मा, अनेसास ओसिनियाका केन्द्रिय उपाध्यक्ष महेश्वर शर्मा, नेपाली समाजका अगुवाहरु डा. नारायण प्रधान, इन्द्रा बन, डा. शम्सेरसिंह थापा, साहित्यकार सानु घिमिरे, एनआरएनए अभियन्ता दिपा जोशीले संयुक्त रूपमा गरेका थिए । “समयको छाल” कविता संग्रहको पुस्तक बारे प्रज्ञा पनेरुले समीक्षा गरेकी थिईन भने लगतै कवयित्री ममता तिवारी र साहित्यकार सानु घिमिरेले उक्त कृतिको बारेमा किताब वार्तालाप गरेका थिए। यस अघि पनि “जीवनका तरंग” नामक कविता संग्रह बजारमा ल्याईसकेकी कवयित्री तिवारीको लेखन क्षमताको उपस्थित साहित्य अनुरागीहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य प्रा. गार्गी शर्मा, अन्जाका उपाध्यक्ष प्रकाश हुमागाईं, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले दिएका थिए।

कार्यक्रम प्रायोजन सहयोगी एक्स्पर्ट एजुकेसन, लक्ष्मी होम लोन्स, प्रोप्टी कनेक्ट, राईट एण्ड एसोसियट्स, मण्डला लिगल, मल्टी डाईनामिक्स, बि एन बि होम लोन, ओली एण्ड एसोसियट्सलाई प्रमाणपत्र वितरण एवं कविता वाचन गर्ने बाबु आयाम घिमिरे र नेपाली नृत्य प्रदर्शन गर्ने नानुहरु श्रेया पौडेल र विदुषी बश्याललाई समेत प्रमाणपत्र वितरण भएको थियो। उक्त कार्यक्रमको संचालन डा. प्रकाश पौडेलले गरेका थिए।