बिजय सापकोटा अस्ट्रेलियाको मन्त्रीस्तरीय समितीमा 

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४
अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय समिती, अन्तराष्ट्रिय शिक्षाको लागि सुझाब सल्लाहा दिने परिषदमा नेपाली बिद्यार्थी बिजय सापकोटा हालै सदस्यका रुपमा चयन भएका छन् । यो समिति अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबलको मातहतमा रहने गर्दछ र यस समितीको अध्यक्ष शिक्षामन्त्री सिमोन बिरमिङ्गम हुन् । यस समितीले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरु र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरु सँग मिलेर शिक्षा क्षेत्रको बिकास लागि कार्य गर्ने उल्लेख गरिएको छ भने यसले अष्ट्रेलियाको भावि अर्थतन्त्रको बिकास, अन्तराष्ट्रिय संलग्नता र आविष्कार लगायतका क्षेत्रमा काम गर्ने बताइएको छ।
युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा सिभिल इन्जिनियर अध्ययनरत चितवनका  सापकोटा केही बर्षअघि अध्ययनका क्रममा अष्ट्रेलिया आएका हुन्र र उनि हाल अष्ट्रेलियामा अध्ययनरत विदेशी बिद्यार्थीहरुको संगठन काउन्सिल फर इन्टरनेशनल एजुकेसन अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष समेत हुन् ।
नेपाली बिद्यार्थीको अष्ट्रेलिया सरकारको उच्चस्तरीय सुझाव समितीमा संलग्नता हुन सबै नेपालीहरुको लागि गर्वको बिषय भएको उनले सुनाए । काउन्सिल फर इन्टरनेशनल एजुकेसन अष्ट्रेलियाका अध्यक्ष स्वतः सदस्य हुने प्रवधान अन्तरगत उनी सरकारी सुझाव समितीमा छानिएका हुन् । १७ जना रहने यस समितिमा नेपालीको प्रतिनिधित्व भएको भने यो पहिलो पटक हो।