सिड्नीमा गौरा पर्ब मनाइयो 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५
सुदुर पश्चिमेली समुदायका नेपालीहरुले गत १५ सेप्टेम्बरको साँझ सिड्नीको रक्डेलमा उल्लासमय बाताबरणमा गौरा पर्ब मनाए । सुदुर पश्चिम समाज अस्ट्रेलियाको आयोजनामा सम्पन्न उक्त गौरा पर्वमा सुदुर पश्चिमेली लगाएत अन्य नेपाली दाजु भाइ दिदि बैनीहरु एकै ठाउँमा जम्मा भइ हुड्केली नृत्य साथै देउडा गीतमा गाउँदै र नाच्दै  पर्व मनाएका थिए।
 गौरा पर्ब नेपालको सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आइरहेको गौरा पर्व भाद्र शुक्लको षष्ठी तिथि देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
प्रवासमा पनि रहेर आफ्नो कला, संस्कृति रहन सहन निरन्तरता दिन र दोश्रो पुस्ता सम्म जोगाइराख्ने उद्देश्यले समाजले हरेक वर्ष गौरा पर्व मनाउदै आएको सुदुर पश्चिम समाज अस्ट्रेलियाका अध्यक्ष केशव जोशीले बताए । संस्थाले चाड पर्ब मनाउने,   सुदुर पश्चिमेली बिच भाइचारा स्थापना गर्नेका अतिरक्त अष्ट्रेलियाको नेपाली समुदायका साथै नेपाल सम्म पनि बिभिन्न समयमा परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउदै आएको छ।
(Photo: AR FOTOS)